अनुभुति


मन्दिर बाट फर्किँदा त झ्याप्पै रात परि सकेछ । ७-७:३० भको हुँदो हो । छिरेँ भित्र । छोरो बिहानै अफिस गथ्यो, पत्रिका पढ्दै रैछ । बुहारी भान्सामा थिईन् । नाति ल्यापटप चलाउँदै थियो, कानमा एयरफोन ठोसेर । छोरो आएर ढोगिदियो, मैले आशीर्वाद दिएँ । नाति थाह पाए पछि आयो ।

एक पटक मेरी प्रियषी तर्फ पनि नजर पुर्याइ हालेँ । सदा झैँ हाँसि रहेकी थिई, मचक्क मस्केर । मैले पट्याउँदा हाँसे जस्तै । कति चमक दिएकी छे त्यो जाबो भित्तालाई पनि ।

कोठामा छिरेँँ अनि, र हेरेँ चारैतिर । बाल्यकालका फोटादेखि सुरू भएर ति भित्ताले सबै समाहित गराएका थिए आफू माथि । सदावहार साथी होस् त तेस्तो, रूने हाँस्ने एकदम सँगसँगै ।

पल्टिन खोज्दै थिँए, निदाएछु । नाति आएर 'बा, खाना खान आउनु' भनेर झक्झकाउँदा पो ब्यूझेँ र फिस्स हाँसे, संसारको चर्तिकला सम्झेर । साला !

खाना खाँदा पनि फर्मल कुरा मात्र भए । काँ काँ घुम्नु भो, कस कसलाई भेट्नु भो त बा जस्ता प्रश्न छोरा बुहारीले सोधे भने नातिले फोटो खिच्नु भयो कि भएन भनेर सोध्यो । जे हो त्यही भन्दै गएँ म पनि । के नै ढाँट्नु छ र खै, ज्या !

अब दिनभरि डुलघुम गरेको, थकाई लाग्ने नै भयो । सुतिदिएँ ।

तर निदाउनु र सुत्नुमा फरक छ । फिटिक्कै निन्द्रा लागेन । बरू म थाह पाउने भए देखि आज सम्म मेरा आँखाले वा क्यामेराले खिचेका फोटा भिडियो बनेर आए । छ्याप्छ्याप्ति छरिए मानसपटलमा । सानो हूँदाका 'क्रष्' देखि बुढ्यौलीका दौँतरी सम्म । नराम्रा पनि आए । खास भन्दा यो दिमाग एउटा भगवान नै जस्तो लाग्छ । कल्पनामा आउने छुट्टै रूप धारण गरेर र अन्त्यमा आँफै फुटेर जाने । कहिलेकाहीँ त यो ज्यादती नै भयो कि जस्तो पनि लाग्छ ।

तर अन्त्यमा निदाएछु नै । धन्न !

एकदम के के न भैहाल्यो कि जसरी चेत आयो भोलि । एकछिन लडि रहेँ, उठ्न आँट आएन । सोचेँ कति कमजोर भइएछ भनेर । उफ्फ ! छोरो सायद काममा गइ सकेको थियो, बोलाएको सुनेन । बुहारीले भात पकाइ दिएर काममा जान्छु भनेर हिजै राति खाना खाँदा सुनाएकी थिइन् । नाति त होला घरमै भनेर आवाज निकालेर नै बोलाएको पनि सुनेन, सायद हिजो फर्किने बेला जस्तै एयरफोन ठोसेर बसेको हो । कठै यो पुस्ता पनि !

काम भ्याएर आइन् बुहारी । मेरो बारे सोधिन् र हेर्न आईन् । एक पटक घडी हेरिन् र गईन् । कोई बोलेनन् । मलाई पनि बोल्ने मन आएन ।

आज किन हो छोरो पनि आयो एकाद घण्टा पछि । मलाई उठ्ने साहस अझै आएको थिएन, तर म सबै थाह पाउँदै थिएँ, पल्टेरै । छोरोले नातिलाई पठायो र आफू पछि पछि आयो । बुहारी छेउमै उभिएकी थिई । नातिले खै किन हो, ढोग्यो मलाई । अनि त्यसको बाउले । रून पो थाले ! डर पो लाग्न थाल्यो । बुहारी परबाट सुँक सुँक गर्दै थिई । मेरा आँखा मेरा लागि त खुल्लै थिए तर छोरोले बन्द गरिदियो । अघि बुहारीले छोरोलाई बोलाएकी रैछिन् । छोरोलाई मैले अन्तिम पटक बोलाएछु, बुहारीबाट ।

बिस्तारै म चाल पाउँदै थिएँ के भयो र के हुँदैछ भनेर । नातिलाई बोलाएको पनि किन सुनेन थाह पाएँ । उठ्न नसकेको कारण पनि थाह पाएँ । रातिदेखि नै सारा जिवन सम्झिएको पनि कारण थाह पाएँ । बुहारीले मलाई हेरे पछि घडी पनि किन हेरि छिन् भनेर पनि चाल पाएँ । र कुरा र कारणका लर्को आइ रहन थाल्यो ।

छोरोले  बोलाउनु पर्ने जति सबैलाई बोलायो । नमिले जानकारी चाहिँ गरायो सबैलाई । अब त फेरि उठौँ कि भन्ने आत्म विश्वास तथा अठोट पनि हराइ सकेको थियो ...

अब एउटा पातलो ब्ल्यान्केट खाले कपडा ओढाए मलाई । अनि घर बाहिर मोठ थिएन, मलाई भर्याङ् जस्तो ओछ्याएर हल्लाउँदै लगे, गाडिले घच्याक घच्याक गराए जस्तो । गाडिमा लगे कि हिँडाए, पुर्याए छन् । झारिदिए !

खै कसले सम्झिएछ, नाकमा कपास ठोसिदियो । एकछिन भुईँमै राखे अनि मुढाहरूको आसन बनाएर माथि चढाए र फेरि मुढाहरूले नै छोपे । खै म कसरी थाह पाउँदै थिएँ यी सब । अनि छोरो आयो र... आथा ! मुखमै पोलिदियो । मलाई धुलो पार्न खोजेका खुब ! म कहाँको सजिलो मान्छे हुँ र ? म जिउँ का तिउँ थिएँ, अझै ।

बिस्तारै मैले आफूलाई हलुका पाएँ, उड्दै पो रहेछु ! तल हेरेको पनि हात हल्लाएर बाई बाई पनि कसैले गरेको थिएन । मलाई के नै भएको छ र ? बोल्दै छु क्यारे, सदा झैँ !

म सबैलाई सम्झिँदै छू यहाँ । बेला बेला खाने कुरा पठाइ दिन्छन् टपरीमा । सञ्चै छ । खुसीको कुरा चैँ मेरी प्रियषी ऐले पनि मुसुक्क मुस्काएर मस्किँदै छे, ऐले चाहिँ साथमा । :)

Comments

  1. I don't know where I was passing through my mind during the lines.but it really settle me...😃😃😃

    ReplyDelete
  2. This comment has been removed by the author.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

A Journey